Sunday, January 31, 2010

सङ्घर्ष

हाम्रा पाइलापिच्छे सङ्घर्ष छन् ।गल्ली-गल्छेँडाहरुमा अप्ठेरा छन् ।उकाली-ओरालीहरुमा असजिला छन् ।प्रत्येक धड्कनमा चुनौती छन् ।आस्था र विश्वासका चुलीहरुमा असफलताका लहरहरु छन् । असफलताका लागि बाटो ढुक्ने छन् । हात समात्ने छन् ।विचार बिगार्ने छन् ।दृष्टान्त बगाल्ने छन् ।विश्वास पगाल्ने छन् । दु:खाउने छन् । रुवाउने छन् ।धम्क्याउने छन् । थर्काउने छन् ।मर्काउने छन् । मुक्क्याउने छन् । कोर्रा लाउने छन् । तसर्थ, यी सबैबाट बचेर अगाडि बढे मात्र पुगिन्छ गन्तव्यमा ।

--नवराज रिजाल

Thursday, January 28, 2010

तरकारी बजार

जीउनु छ भने खाना खानै  पर्दछ  या कुनै अरु माध्यमबाट शरिरमा पोषण तत्वको  भरण गरिनु पर्दछ , यो खाली जीउनकोलागि मात्र आवश्यक छैन ज्यानलाई चाहिने मात्रामा तागत दिन र बाह्य संक्रमणबाट बच्न पनि खाना खानु पर्ने हुन्छ ।

तरकारी
हाम्रो खानामा तरकारी उल्लेख्य मात्रामा रहेको हुन्छ । तरकारीलाई जनजिब्रोको भाषामा तिउन,सब्जी पनि भन्ने गरिन्छ ।तरकारीले हाम्रो खानामा मूख्यतया  भिटामीन,खनिज तथा प्रोटिनको मात्रा परिपुर्ति गर्दछ । ताजा तथा राम्ररी उत्पादन गरिएको तरकारीले हाम्रो स्वास्थ्यलाई राम्रो बनाउन मद्दत गर्दछ ।
तर  तरकारी प्राङ्गारिक रुपमा उत्पादन गरिएका हुदैनन् । बिभिन्न रसायनिक मल (युरिया,पोटास,फोस्फरस) मात्र राखेर उत्पादन गरिएका तरकारीहरु देख्नलाई राम्रो र पूर्ण देखिए पनि यसमा तामा,बोरोन,फलाम, जिन्क मलिब्डेनम लगायतका सुक्ष्म पोषण तत्व नदिइएकाले यो पोषिलो हुदैन । त्यसमाथि नाना विषादी र तिनको जथाभावी प्रयोगले तरकारीलाई विष नै बनाई दिन्छ ।


                                                 प्राङ्गारिक (organic) तरकारी खेती
त्यस माथि पनि उत्पादन स्थल देखि बिक्री स्थल सम्म आइपुग्दा तरकारीको अवस्था खराब भइसकेको हुन्छ ।

हाम्रो आफ्नै घरमा खाना बनाउने तरिका नमिल्दा पनि तरकारीमा रहेका पोषण तत्वहरु नाश हुन पुग्छन् ।
 
त्यसैले हामीले यी सबै कुरामा ध्यान दिनु जरुरी छ ।
(धन्यवाद : विकिमिडिया फाउन्डेशन ,सबै चित्रहरुको स्रोत)

Sunday, January 3, 2010

स्वस्थानी व्रत

जाडोको याममा , बेलुकीको समयमा सिरकमा गुटमुटिएर स्वस्थानीको कथा सुन्न मजा बेग्लै हुने गर्थ्यो । हुन त कहिले काहीँ आमाको छुइ भएको बेलामा पूजा गर्नुपर्ने अभिभारा बोक्नुपरे पनि मलाई स्वस्थानीको याम रमाइलो लाग्ने गर्दथ्यो । वर्षको १ पटक सालिनदी पनि पुगिएकै हुन्थ्यो । थाह छैन कैयौँ वर्ष देखि सुन्दै आएको एउटै कथालाई दोहोर्‌याई दोहोर्‌याई सुन्दा पनि त्यती बिध्न रमाइलो किन लागेको हो । विशेष त पाचौँ अध्यायको त्रिपुर दहन मलाई सह्रै मन पर्ने गर्दथ्यो । कुमारले ताराकाक्षको शिरकाटेको  , गोमाको दुःख र पछि ऐश्वर्य प्राप्ति साथै स्कन्द पुराणका अनेकन कथा बोकेर बनेको स्वस्थानी साच्चै नै मलाई अहिले पनि रोचक लाग्छ ।साच्चैँ मेरो वाल्यकालमा मैले स्व को सिद्धान्त (स्व‌ धर्म , स्व स्थान ) नबुझेको भए पनि मेरो मानसपटलमा तिनै तस्विरहरु डुलिरहेको हुन्थ्यो र डुलिरहन्छ अहिले पनि ।

मेरा स्वस्थानीका कथा कुनै किम्वदन्ती नै किन नहुन् मालाई त्यसमा मेरो बाल्यकालको याद आउँछ , कथासँगै आमाका अर्तिहरुको याद आउँछ ।  मेरो संस्कारमा मलाई गौरव लाग्छ ।तर मसँग अहिले ती दिनका याद मात्र बाँकी छन् । के ती दिनहरु फेरि  फर्किएर आउलान् ?   

~~हिमवत~~